महेन्द्रनगर:
शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक बहादुर चन्दले भीमदत्त नगरपालिका ६ वडा अध्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । आइतबार भीनपा ६ वडा कार्यालयस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा चन्दले उम्मेदवारी दर्ता गराएका हुन् ।
शान्ति निकेतनबाट अनिवार्य अवकाश पाएको चार महिनापछि चन्द चुनावी मैदानमा आएका हुन् । चन्दले नेकपा एमालेबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेको चुनाव सम्पर्क कार्यालयबाट ¥याली सहित मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर चन्दले दिउँसो उम्मेदवारी दर्ता गराए ।
एमाले पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, पूर्व उप सभामुख भोजराज जोशी, एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य एबम् कञ्चनपुर क्षेत्र नं.् ३ का पूर्व साँसद डा.दिपक प्रकाश भट्ट, एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढा, एमाले कञ्चनपुरका निवर्तमान अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्ट, एमाले निर्वाचन परिचालन समितिका संयोजक एबम् एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी लगायतका नेताहरु सहभागी भएका छन् ।
यसैगरी शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महरा, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, उप सचिवद्वय राजीव खड्का, अशोक कुमार चन्द लगायतका नेताहरु पनि उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेका छन् ।
उम्मेदवारी दर्तापछि चन्दले वडाका वासिन्दाको भावना अनुसार वडाको विकास र समृद्धिका लागि सक्रिय रुपमा लाग्ने बताए । उनले ढल निकास, बाटो घाटो, विद्युत, छाडा चौपाया, शिक्षा, स्वास्थ्य लगायत समस्या समाधान गर्न आफू सक्रिय रुपमा लाग्ने चन्दको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस