२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

भीनपा ६ को उप निर्वाचनमा एमालेले बनायो पूर्व प्रधानाध्यापक बहादुर चन्दलाई वडा अध्यक्ष उम्मेदवार




  • त्रिनेत्र पोष्ट
  • २०८१ कार्तिक १४, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • महेन्द्रनगर:

    नेकपा एमालेले भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनमा बहादुर चन्दलाई वडा अध्यक्ष उम्मेदवार बनाएको छ । एमाले जिल्ला कमिटीले कञ्चनपुरले शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी चन्दलाई वडा अध्यक्षको उम्मेदवार घोषणा गरेको हो ।

    उम्मेदवार चन्द अवकाश प्राप्त शिक्षक हुन् । शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्द चार महिना अघि शिक्षण पेशाबाट अनिवार्य अवकाश भएका थिए । ४६ वर्ष शिक्षण पेशामा बिताएका उनी उप निर्वाचनमा एमालेबाट उम्मेदवार भएका हुन् । एमाले भीनपा ६ वडा कमिटीले अध्यक्षका उम्मेदवार चन्द र जिल्ला कमिटी सदस्य राजेन्द्र आग्रीलाई उम्मेदवारका लागि नगर कमिटीमा सिफारिश गरेको थियो । केही दिन अघि नगर कमिटीले चन्द र आग्रीबीच छलफल गरी चन्दमा सर्वसम्मत गरी जिल्ला कमिीटमा सिफारिश गरेको थियो ।

    एमाले जिल्ला कमिटी सचिवालयले नगर कमिटीको सिफारिश अनुमोदन गरी चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार सचिवालय बैठकबाट निर्णय गरी पत्रकार सम्मेलन गरी चन्दको उम्मेदवारी घोषणा गरिएको हो ।

    पत्रकार सम्मेलनमा वडा अध्यक्षका उम्मेदवार चन्दलाई टिका लगाएर फूलमाला र खादा लगाइएको छ । एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, जिल्ला अध्यक्ष लक्ष्मी बुढाले उनलाई फूलमाला र खादा लगाएकी हुन् । उप निर्वाचनका लागि एमालेले सबैभन्दा पहिलो पटक उम्मेदवारी घोषणा गरेको हो ।

    उम्मेदवारी घोषणापछि पत्रकार सम्मेलनमा वडा अध्यक्षका उम्मेदवार चन्दले संक्षिप्त मन्तव्य राख्दै भीनपा ६ का मतदाता सहित सबैलाई चुनावमा सहयोग गनं आग्रह गरे ।

    चन्दले उप निर्वाचन जितेका आफूले पार्टी निर्देशन र जनताको इच्छा आकाँक्षा अनुसार काम गर्ने प्रतिवद्धना जनाए । एमालेले आफूलाई विश्वास गरी उम्मेदवार बनाएकोमा उनले पार्टीप्रति आभार व्यक्त गरे ।

    ‘पार्टीले विश्वास गरी मलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ, त्यसका लागि म व्यक्तिगत र वडा नं. ६ का सम्पूर्ण जनताको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु’ चन्दले भने,‘ सम्पूर्ण मतदाता र पत्रकार सहित सबैसित सहयोगका लागि आग्रह गर्छु, मैले जितेमा पार्टीको निर्देशन र जनताको इच्छा आकाँक्षा अनुसार काम गर्ने प्रतिवद्धता गर्दछु ।’

    पूर्व प्रधानाध्यापक चन्दको व्यक्तित्व , सामाजिक शैक्षिक क्षेत्रमा पुगाएको योगदान र स्वच्छ छविका कारण वडा अध्यक्षको उम्मेदवार बनाइएको इन्चार्ज पालले बताइन् ।

    ‘वहाँले ४६ वर्ष शिक्षण पेशा गर्नु भयो, निष्कलंक छवि छ, हरेक कुरामा दृढता पुर्वक उभिन सक्नु हुन्छ’ उनले भनिन्,‘त्यस कारण पार्टीले आशा भरोसा गरी यो निर्वाचनमा वहाँलाई उम्मेदवार बनाएको छ ।’

    इन्चार्ज पालले चन्दलाई विजयी गराउन सबै नेता कार्यकर्ता पार्टी पंक्ति परिचालन हुने बताइन् । ‘मिसन ८४ मा एकल निर्वाचित भएर सबैभन्दा ठूलो शक्ति ठूलो लक्ष्यका साथ एमाले अघि बढी रहेको छ, त्यसका कारण यो उप निर्वाचनमा विजयी गराउन सबै नेता कार्यकर्तालाई सक्रिय रुपमा परिचालन हुन आग्रह गर्छु’ उनले भनिन् ।

    एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेलले उम्मेदवारको चन्द स्वच्छ छवि, निडर, अन्याय र भ्रष्टाचारका विरुद्ध सशक्त रुपमा उभिन सक्ने व्यक्तित्व भएको उल्लेख गर्दै उप निर्वाचनमा विजयी हुने आशा व्यक्त गरे ।

    उप निर्वाचन जिताउन पार्टीले सबै प्रयास गर्ने र त्यसका लागि पार्टीका सबै नेता कार्यकर्ता परिचालन हुने बताए ।

    शिक्षण पेशाबाट राजीनामा दिएर चुनाव लडेपछि खरेल २०४९ को स्थानीय निकाय निर्वाचनमा भीनपा १८ को वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०५४ मा उनी भीनपा(तत्कालिन महेन्द्रनगर नगरपालिका) को उप मेयर भएका निर्वाचित भएका थिए ।
    एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले उप निर्वाचनबाट भीनपा ६ मा एमाले विरासत फर्किने बताइन् ।

    २०७९ को स्थानीय तह निर्वाचन पार्टी विभाजनका कारण गुमाउनु पुगेको उल्लेख गर्दै उनले उप निर्वाचनमा पार्टी बलियो दाबी गरिन् ।

    ‘पार्टी फुटेको बेलामा चुनाव लड्यौ, ६ नम्बरमा त्यस बेलामा पार्टीमा सबैभन्दा बढी असर परेको थियो’ उनले भनिन्,‘अहिले नेता कार्यकर्ता घर फर्काउने अभियान चलाएका छौ, वहाँहरुलाई पार्टी जिम्मेवारी दिने र काममा लगाउने गरी अघि बढेका छौ ।’

    एमालेले केही दिन अघि पूर्व अध्यक्ष रामदत्त भट्टलाई एमाले फर्काएको थियो । २०५४ को स्थानीय निकाय निर्वाचन जितेका भट्ट पार्टी विभाजन भएपछि समाजवादी भएका थिए ।

    एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले उम्मेदवार चन्दको स्वच्छ छवि र हक्की स्वभाव भएको उल्लेख गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने गरी तयारी थालिएको बताए ।

    एमाले कञ्चनपुरका उपाध्यक्ष अवस्थीको नेतृत्वमा उप निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

    पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, कमला बोहरा, एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उप सचिव नर बहादुर विश्वकर्मा, सदस्यहरु रण बहादुर महरा, महेश पन्त, कर्ण बहादुर चन्द, ऐश्वर्या कुँबर, लोकेन्द्र ऐरी, एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, उप सचिवद्वय राजीब खड्का र अशोक चन्द, एमालेका कार्यालय सचिव रामचन्द्र रेग्मी, एमाले भीमदत्त नगर कमिटीका सचिव खगेन्द्र विष्ट लगायतका नेता सहभागी भएका छन् ।

    एमाले कञ्चनपुरको तेस्रो सचिवालय बैठकले वडा अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको हो । मंसिर १६ गते भीनपा ६ उप निर्वाचन हुन लागेको हो । २०७९ मा काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।

    एमालेले २०७९ मा पहिलो पटक ६ नम्बर वडा गुमाएको थियो । त्यस अघि २०७४, २०५४ र २०४९ मा चुनाव जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट