२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

काँग्रेस नेता मिश्रको सम्झनामा कार्तिक ५ गतेदेखि तिलाचौरमा पाँचौ विपी स्मृति क्रिकेट प्रतियोगिता




  • त्रिनेत्र पोष्ट
  • २०८१ आश्विन ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • महेन्द्रनगर:

    भीमदत्त नगरपालिका ८ तिलाचौरमा कार्तिक ५ गतेदेखि पाँचौ विपी(विष्णु प्रसाद मिश्र) स्मृति क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताका कञ्चनपुर जिल्लाका सबै ९२ वडाका टीम सहभागी गराउने गरी तयारी सुरु गरिएको छ ।

    न्यू हिमालय सामाजिक सेवा समितिले प्रतियोगिता आयोजान गर्न लागेको हो । प्रतियोगितामा टीम सहभागिताका लागि वडा कार्यालयसित समन्वय थालिएको समितिले जानकारी दिएको छ ।

    समितिले मंगलबार प्रतियोगिता सम्बन्धि जानकारी दिन तिलाचौरस्थित नागार्जुन इङ्गलिश बोर्र्डिङ्ग स्कुलमा गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष नारायण सिह विष्टले कोरोना महामारीका कारण रोकिएको प्रतियोगितालाई यस वर्षदेखि निरन्तरता दिइएको बताए ।

    काँग्रेसका स्वर्गिय नेता मिश्रको सम्झनामा समितिले २०७२ मा पहिलो पटक प्रतियोगिता आयोजना गरेको थियो । त्यसपछि कोरोना महामारीका कारण प्रतियोगिता आयोजना रोकिएको थियो ।

    भीमदत्त नगरपालिका ८ तिलाचौरका काँग्रेस नेता मिश्रको २०६६ मा निधन भएको थियो । उनी काँग्रेसका क्षेत्रीय उप सभापति थिए । नेता मिश्र इमान्दार, निष्ठावान, स्वच्छ छवि बनाएका थिए ।

    तिलौचारस्थित त्रिभुवन माध्यमिक विद्यालयको मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगिताका विजेताले एक लाख ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफी र प्रमाण पत्र पाउने छ । उप विजेताले ७७ हजार ७ सय ७७ नगद सहित ट्रफी र प्रमाण पत्र पाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    आयोजक समितिले मंगलबार साँझदेखि टीम दर्ता सुरु गरेको छ । आयोजक न्यू हिमालय सेवा समितिको टीम पनि प्रतियोगितामा सहभागी हुने छ । प्रतियोगितामा सहभागी हुन २० हजार दर्ता शुल्क तोकिएको छ ।

    प्रतियोगिताका संयोजक खगेन्द्र धानुकले मंगलबार साँझदेखि टीम दर्ता सुरु भएको र कार्तिक ४ गते खेल तालिका सार्वजनिक गरिने बताए । टीम दर्ताका लागि सम्बन्धित वडाको सिफारिश र खेलाडीको नागरिकतालाई अनिवार्य गरिएको छ ।

    प्रतियोगिताको वेष्ट प्लेयर अफ टुर्नामेन्ट, वेष्ट ब्याट्समेन र बेष्ट बलर, इमर्जिङ्ग प्लेयर, मोष्ट सिक्सर र बेष्ट फिल्डरलाई आकर्षक पुरस्कार प्रदान गरिने संयोजक धानुकले बताए । सबै खेलका प्लेयर अफ म्याचलाई ट्रफी प्रदान गरिनेछ ।

    पत्रकार सम्मेलनमा भीमदत्त नगरपालिका ८ का वडा अध्यक्ष मदनराज मिश्रले वडा कार्यालयले प्रतियोगिता सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए ।

    पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विष्ट सहित सल्लाहकार गोरख बहादुर पुजारा, कबड्डीका खेलाडी लछीधन अधिकारी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी लगायतका सहभागी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट