मकवानपुर:
सुन्दा अचम्म लाग्ला । तर मकवानपुरमा गए राति भैँसीले बाघलाई मारेको छ । भैँसीको गोठमा पसेको बाघले भैँसीलाई आक्रमण गर्ने क्रममा भैँसीले प्रतिकार गरी बाघ मारेको हो । बाघ बुढो भएकोले भैँसीको प्रहार झेल्न नसकेको नेपाली सेनाको अनुसन्धानबाट खुलेको छ । भैँसी भने सामान्य घाइते मात्र भएको छ ।
प्रहरीका अनुसार बाघ गोठमै मरेको हो । बिहीबार बिहान मकवानपुरको मनहरी गाउँपालिका- ६ का बलबहादुर राईको गोठमा बाँधेको भैँसीलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि भैँसीले प्रतिकार गर्दा बाघ मरेको हो ।
बाघ र भैँसी जुधेपछि घरधनीका साथै उनका छिमेकीले थाहा पाएका थिए । उनीहरू गोठमा पुग्दा बाघ मरिसकेको र भैँसी घाइते अवस्थामा भेटिएको बताइएको छ ।
पर्सा वन्यजन्तु आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले घटनाको अनुगमन गरेको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान सुरु गरिएको छ । मरेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।
प्रतिक्रिया दिनुहोस