महेन्द्रनगर:
बढी जग्गा चर्चेको ९ धुर जग्गाको रकम ७ दिनभित्र दाखिला गर्न महेन्द्रनगर नगर विकास समितिले होटल ओपेरा प्रालि महेन्द्रनगरलाई २०६८ असार २३ गते पत्र लेख्यो । ७ दिनभित्र बुझाउन पत्राचार भएको १३ वर्षसम्म पनि रकम नबुझाएपछि नगर विकास समितिले पुनः ताकेता गरेको छ ।
भीमदत्त नगर विकास समिति महेन्द्रनगरले २०८१ जेठ २८ गते होटल ओपेरालाई पत्र लेख्दै १५ दिनभित्र रकम बुझाउन भनेको थियो । तर १५ दिन नाघिसक्दा पनि ओपेराले रकम बुझाएको छैन ।
समितिले लेखेको पत्रमा उल्लेख छ, ‘तहाँलाई यस समितिको मिति २०५१/८/१७ को नि.नं. २५ अनुसार साविक कि.नं. ४२४० क्षे.फ. ०–८–० (आठ कट्टा) जग्गा उपलब्ध गराइएकोमा पुनः नापीबाट सोमा ९ धुर बढी जग्गा चर्चेको देखिन आएकोले बढी हुन आएको जग्गाको रकम दाखिला गर्ने सम्बन्धमा यस पूर्व पनि पत्राचार गरिँदा कुनै चासो नदेखाउनु भएकोले यो पत्र लेख्ने कार्य भएको छ । पत्र प्राप्त भएको मितिले १५ दिनभित्र रकम बुझाउन यस समिति कार्यालयमा सम्पर्क गर्न हुन जानकारी गराइन्छ । अन्यथा सरकारी बाँकी सरह रकम असूलतर्फ कारवाही अगाडि बढाइने व्यहोरा समेत यसै पत्रद्वारा जानकारी गराइन्छ ।’
होटल ओपेराले तिर्नुपर्ने रकम नतिरी वर्षाैंदेखि सरकारी जग्गाको प्रयोग गरिरहेको छ । सो जग्गा प्रयोग गरेर ओपेराले आम्दानी गरिरहेको भए पनि तिर्नुपर्ने रकम तिरेको छैन ।
ओपेरा क्षेत्रमा हाल जग्गाको मूल्यांकन प्रतिधुर १० लाख रुपैयाँ आसपास रहेको बताइन्छ । हालको मूल्यांकनअनुसार ओपेराले नगर विकास समितिलाई करीब १ करोड रुपैयाँ तिर्नुपर्ने हुन आउँछ ।
यसबारे प्रतिक्रिया लिन भीमदत्त नगरपालिकाका नगर प्रमुख (मेयर) पदम बोगटीलाई फोन गर्दा उनले भेटेरै कुरा गर्ने बताउँदै फोन काटिदिए ।
प्रतिक्रिया दिनुहोस