अविरल वर्षासँगैको बाढी तथा डुबानका कारण कञ्चनपुरमा मात्र ४ हजार बढी मानिस प्रभावित भएका छन्। अहिलेसम्मको अपडेटमा ४ जनाको मृत्यु भएको छ भने अन्य केही बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रराज जोशीले अहिलेसम्म ४ जनाको मृत्यु भएको जानकारी दिए। उनले भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेलौरी, कृष्णपुर, बेदकोट, बेलडाँडीसहितका ठाउँमा मानिसहरु प्रभावित बनेका छन्
जोशीले बाढी तथा डुबानबाट आशिंक तथा पूर्ण रुपमा प्रभावित भएकाहरुलाई सुरक्षित स्थानमा सारिएको बताए।
उनका अनुसार बस्ती डुबानमा परेपछि घरभित्र जमेको पानीमा खसेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका शिशु सोनु धानुकको मृत्यु भएको थियो।
यस्तै, पुनर्वास नगरपालिका–५ को घ गाउँमा जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी र उनीहरुसँगै नुहाइरहेकी १६ वर्षकै आरती बोगटीको मृत्यु भएको हो।
त्यस्तै चौदारा नदीमा माछा मार्ने क्रममा बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी बगेर बेपत्ता भएका छन्। उनको खोजी भइरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको छ।
प्रतिक्रिया दिनुहोस