चाँदनी:
दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण स्थलमा आगामी आर्थिक वर्षदेखि निर्माण सुरु गर्ने लक्ष्यका साथ वातावरणीय व्यवस्थापन योजना बनाउन प्राविधिक विज्ञको टोली परिचालन गरिएको छ । सुख्खा बन्दरगाह परियोजना भारत सरकारको आर्थिक सहयोग र प्राविधिक सहयोगमा निर्माण हुनेछ ।
वन तथा वातावरण मन्त्रालयको निर्देशनपछि वातावरणीय व्यवस्थापन योजना बनाउन इन्जिनियरको नेतृत्वमा प्राविधिक टोली कञ्चनपुर पठाइएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । ‘पहिले स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)का आधारमा वातावरण व्यवस्थापन योजना बनाउन वन मन्त्रालयको निर्देशनअनुसार टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सहकार्य गरिरहेको छ,’ गजुरेलले भने ।
विस्तृत परियोजना प्रतिवेदनअनुसार सुख्खा बन्दरगाहको निर्माण क्षेत्र २५ हेक्टरमा फराकिलो बनाउने योजना छ । गजुरेलले भने, “रूख कटानलाई न्यूनीकरण गर्न र जग्गाको उपयोगलाई अधिकतम बनाउन परिमार्जित वातावरणीय व्यवस्थापन योजना तयार गर्नुपर्छ ।” उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुख्खा बन्दरगाह निर्माणलाई समेटिएको पनि बताए ।
दोधारा चाँदनी नगरपालिका भित्र रहेको मायापुरी र गौरीशंकर मध्यवर्ती वन क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन सम्पन्न भएको छ । तर, सुक्खा बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भने मन्त्रिपरिषद्को स्वीकृतिको पर्खाइमा छ ।
गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दोधारा–चाँदनी सुख्खा बन्दरगाहको विकासका लागि दुवै देशको प्रतिबद्धतालाई जोड दिँदै द्विपक्षीय समझदारीपत्र (एमओयू) पछी आयोजना निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस