२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

एउटा गरिब छोरीको शिक्षा मन्त्री सुमना दिदीलाई खुलापत्र




  • त्रिनेत्र पोष्ट
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित ७ महिना अघि
  • आदरणीय शिक्षामन्त्री सुमना दिदि
    नमस्ते

    मेरो घर सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला, पुनर्वास नरपालिका भन्ने स्थानमा पर्दछ । यहाँको अधिकांस मानिसहरु गरिबीको रेखामूनी रहेका छन् । त्यसमाथि पनि दलित समुदायको आर्थिक, शैक्षिक तथा सामाजिक अवस्था झनै दुर्वल छ । यहाँ धेरै जसो गरिब समुदाय रोजगारीको लागि भारत जाने तथा ज्याला मजदुरी भरमा कष्टपूर्ण जिविकोपार्जन गर्न वाध्य छन् ।

    यहाँको गरिब, दलित परिवारहरु मध्ये एक परिवार मेरो पनि हो । मेरो बाबा घर नजिकैको इटा भट्टामा दैनिक मजदुरीमा कठिन र जोखिमयुक्त काम गर्नु हुन्छ । आमाको देब्रे हात राम्रोसंग चल्दैन् । उहाँ आंसिक अपाङ र रोगी हुँनु हुन्छ । मेरो एक जना दाई, दुईजना भाईहरु गरी हामी ४ जना भाई बैनी छौं । म अहिले १४ बर्षकी भए र कक्षा ८ मा पढ्छु । पहिला बाबा भारतमा काम गर्नु हुन्थ्यो । पछि गाउँमै इटा भट्टा खुले पछि बाबा त्यहि काम गर्न थाल्नु भयो । भट्टामा ५ महिनाको मात्र काम हुन्थ्यो । त्यहि कमाईले हामीले १२ महिनाको जोहो गर्नु पर्ने हुन्छ ।
    हामी घर नजिकैको सामुदायिक विद्यालयमा पढ्छौं । हाम्रो पढाई राम्रो छ । विद्यालयमा संचालन हुँने विभिन्न शैक्षिक कार्यक्रममा हामी उत्तिकै सकृय सहभागि हुन्छौं । मेरो दादाको धेरै पढेर भविष्यमा असल शिक्षक बन्ने सपना छ । म पनि पढेर सेतो कुर्ता सुलवार लगाई नर्स भएर हाम्रा गाउँ घरका गरिब दुखीलाई स्वास्थ्य उपचार गर्ने लक्ष्य बोकेर खुब मेहेनत गरेर पढ्दै छु । हामी दाजु बहिनी मिलेर घरको जिम्मेवारी आफ्नो काँधमा उठाउने, भाईहरुलाई राम्रो शिक्षा संस्कार दिने, बाबुआमालाई राम्रो संग पाल्ने र समाजमा हाम्रा परिवारलाई पनि सम्मानजनक अवस्थामा पुर्याउने अठोट लिएका छौं ।

    घरमा आर्थिक भार कम गर्न र हाम्रो पढाईमा बाधा नपरोस् भनेर हामी दाई बैनीले मिलेर बाख्रा पाल्थ्यौं । प्रत्येक बर्ष केहि खसी बाख्रा बचेर विद्यालयको भर्ना शूल्कको जोहो पनि गथ्र्यौ । तर यो साल आमा सिकिस्त विरामी पर्नु भयो । बाख्रा बेचेर आमाको उपचार गुर्न पर्यो । त्यसले पनि नपुगेर बाबाले महंगो व्याजमा ऋण काड्नु भयो । यो घटनाले हाम्रो गरिब परिवारमा ठूलो आर्थिक विचलन आयो । अब यो आपतबाट उम्कने उपाय हामीले खोज्नै सकिरहेका छैनौं ।

    यो २०८१ सालको बैशाख महिना विद्यालय भर्ना हँुने बेला आयो । प्रत्येक बर्ष हाम्रो पालिकाले सामुदायिक विद्यालय शिक्षा निशुल्क भएको सूचना निकाल्ने गर्छ । अध्ययन गरे बापत शुल्क तिर्न पर्दैन् । बाबा खुशी हुँदै हामीलाई विद्यालयमा भर्ना जानु भयो । सायद यो बर्ष त् निशुल्क शिक्षा कार्यान्वयन पक्कै भएको होला । हामी बाबा फर्केर आउने बाटो कुरेर बस्यौं । बाबा फर्केर आउनु भयो तर निराश अवस्थामा । हेडसरले त लामो हिसाब किताब थमाईदिनु भएछ । चन्दा, सहयोगको नाममा । दादाको ९ कक्षामा भर्ना र मासिक शुल्क ४५ सय, मेरो ८ कक्षामा भर्ना र मासिक शुल्क २ हजार, एक जना भाई ६ कक्षामा भर्ना र मासिक शुल्क १५ सय र अर्को भाई ५ कक्षामा भना हुँन ३०० हजार गरि हामीलाई ८ हजार ३ सयको आवश्यकता पर्यो । यति धेरै पैसा जोहो गर्ने सक्ने हाम्रो अबस्थानै छैन । चन्दा दिन नसके पछि हाम्रो नाम पनि लेखिएन छ । कस्तो दुर्भाग्य हामी जस्ता गरिबलाई भाग्यले त ठग्यो नै, व्यवस्था पनि झुटा आशा देखाएर ठग्छ । संविधानले दिएको मौलिक अधिकार पनि हामीले उपभोग गर्न पाएनौं ।

    राज्यले अनिर्वाय र निशुल्क शिक्षाको नीति ल्याएको छ तर हामी शिक्षा हासिल गर्न अनिर्वाय शुल्कको गति भोगि रहेका छौं । हाम्रो घरमा निरासा छायो, अब के गर्ने ? कसरी विद्यालय भर्ना शूल्कको जोहो गर्ने ? यस बिषयको उत्तर नै थिएन हामीसंग । हामी विकल्प बिहीन भयौं । घरको अवस्था हरेर हामीलाई थाहा भईसकेको थियो अब हाम्रो पठ्न पाठ्न यतिमै सिमित हुनेछ । हामी दाई बहिनीले बुनेका भविष्यका सपनाहरु हाम्रा आँखै अगाढि चकनाचुर हुँदै थियो ।

    आमालाई उपचारमा लागेको ऋण, व्याज, घरको खर्च र विद्यालय शुल्क ७÷८ हजार, कापी कलम, खाजा, पोशाकको व्यवस्था गर्ने बाबाको अवस्था थिएन् त्यो हामीले पनि स्पष्ट बुझेका थियौं । दादा र मेरो पढाई यात्रा त अब सकिने अवस्थामा थियो भने अब साना भाईहरुको भविष्य पनि सुरक्षित रहेन् । यो देखेर दादा अत्यन्तै चिन्तित हँुदै आफ्नो निर्णय सुनाउनु भयो । म बम्बै जान्छु, पैसा कमाउछु र भाई बैनीलाई पढाउछु ।

    म स्तब्ध भए, दादाको त्यो निर्णय सुनेर । उहाँ मेरो प्रेरणाको श्रोत हँुनु हुन्थ्यो । उहाँले मलाई जिवनमा आईपरेका हरेक समस्यासंग सर्घष गर्न सिकाउनु हुन्थ्यो । मेरो दादा मेरो अभिभावक मात्रै हैन् मेरो ‘बेस्ट फ्रेन्ड’ हँुनु हुन्थ्यो । उहाँको मार्ग निर्देशन विना अब कसरी अगाडि बढ्न सक्छु ? हामीले भविष्यका लागि बालाअवस्थामा बनाएका योजनाहरु म एक्लै कसरी पुरा गर्न सक्छु ? उहाँको शून्यतालाई कसरी सहन सकुला ? गरिबको सपनाको कुनै मूल्य नहुँने रहेछ भन्ने आजबाट म स्पष्ट भए ।

    यसरी बिचैमा पढाई छोडेर बालाअवस्थामा भारत पस्दा भोली यो समाज, यो देशले कस्तो युवा जनशक्ति उत्पादन गर्ला ? अनि कसरी विकास हुँन सक्छ मेरो समाज, मेरो गाउँको ? मेरा मनमा प्रश्नै प्रश्न तेर्सिए तर जवाफमा जताततै अन्धकार मात्रै भेटिन्थे ।

    मलाई थाहा थियो, हामी भाई बहिनीहरुको भविष्य जोगाउन दादाले आफनो बलिदानी दिदै हुँनु हुन्छ । यो मेरो गाउँमा प्रत्येक गरिब घरको समस्या हो । राज्यले हामीलाई दिएको एउटा सामान्य अधिकारबाट त यसरी बञ्चितिकरण हुँनु परेको छ भने कसरी निमार्ण हुन्छ समतामूलक समाज ? कसरी पुग्छ हामी जस्ता गरिब, दलित, उपेक्षित, जनजाति, आदिवासीका बालबालिकाको शिक्षामा पहुँच ? विद्यालयतहको अनिर्वाय र निशुल्क शिक्षा प्राप्तीका लागि त हामीले यत्तिका संर्घष गर्नु पर्दछ, भने कसरी सम्भव छ हाम्रो लागि उच्च शिक्षा ?

    मेरो दादा अहिले हामीलाई पढउन परदेश जानु भयो । मेरो मन बैचैन भएको छ । स्कुल जाँदा हरेका दिन दादाको कक्षामा च्याउने गर्छु । मरो आँखाले दादालाई खोज्ने गर्छ । कतै जादु भएर दादा आफ्ना साथीहरुसंग कक्षा कोठामा पढिरहनु भएको त छैन् ? आज मेरो बालमनोवल विक्षिप्त भएको छ । रेडियोमा बजेको सामुदायिक विद्यालयमा अनिर्वाय र निशुल्क शिक्षा सम्बन्धि प्रचार प्रसार आज पनि मेरा कानै फुट्ला झनै गरेर गुन्जि रहन्छ । असैय पिडा हुन्छ । दुवै हातले बेस्सरी कान थुन्छु । मन भक्कानियो, आँखाबाट आशुहरु झरिरहे ।

    सुमना दिदि सम्पूर्ण गरिब बालबालिका तर्फबाट म तपाईको अगाडि हात जोड्छु । बिन्ती चढउछु । हामीलाई बास्तवमै निशूल्क शिक्षाको व्यवस्था गरि दिनुस् । राज्यले गरेको निशूल्क शिक्षाको व्यवस्थालाई हामीलाई महशुस गराई दिनुस् । हामी जस्ता गरिब जनताको जिवनस्तर सुधार हुँन शिक्षाको ठूलो आवश्कता छ । हाम्रो समुदायको सशक्तीकरण गर्न शिक्षाको ठूलो आवश्यकता छ । अन्यथा म र म पछिको कयौं सन्तती पनि यहि गरिबी, असमानता र उत्पीडनकै भुमरीमा रुमल्लीएर हराउने छ । म जस्ता कलिलो किशोरी र मेरो दादा जस्तो किशोर बिचमै विद्यालय छोडी की त बालविवाह गर्नु वा भारत पस्नुको विकल्प रहदैन् ।
    हामीले तपाईलाई अन्तिम आशाको केन्द्र मानेका छौं । हामीलाई निशूल्क पढ्ने व्यवस्था गरि मेरो दादालाई गाउँ फर्काउने व्यवस्था गरिदिनुस् । मेरो दादाको ठूलो भएर असल शिक्षक भनी गरिबका बालबालिकालाई पढाउने लेखाउने सपना बचाई दिनुस् । यो तपाईको बैनी समान एउटा गरिब, दलित छोरीको दश औंला जोडेर गरेको बिन्ती हो । हामीलाई न्याय दिनुहोस् । तपाईको यो गुन देशका प्रत्येक गरिब विद्यार्थी बालबालिकाहरुको मनमा अमर रहनेछ ।

    उहि एउटा गरिब, अभागि छोरी

    काली सुनार
    पुनर्वास, कञ्चनपुर

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट