२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

मेयर–उपमेयरको ‘नौटंकी’ले काम नगरेपछि भीमदत्तवासी आक्रोशित, छाडा पशु बजारमा




  • त्रिनेत्र पोष्ट
  • २०८० पौष ३, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • महेन्द्रनगर:

    कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख (मेयर) पदम बोगटी र उपप्रमुख (उपमेयर) निलम लेखकले छाडा पशुचौपाया व्यवस्थापनका लागि भन्दै केही महिनाअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गएर खर काट्ने काम गरे । मेयर–उपमेयर नै गएर खर काटेपछि त्यो फोटो उतिबेलै भाइरल भयो ।

    काम देखाउने नाममा खर काटेका मेयर–उपमेयरको काम सफल भएन । जसले गर्दा फेरि छाडा पशुचौपाया समस्या ब्यूतिएको छ । यसअघि पनि नगरवासीले छाडा पशुचौपाया संकलन गरेर नगरपालिका कार्यालयमा ल्याएपछि छिट्टै व्यवस्थापन गर्ने आश्वासन दिइएको थियो ।

    मंगलबार फेरि भीमदत्त नगरपालिका–१६ वसन्तपुर र मझगाउँका स्थानीय महिलाले छाडा पशुचौपाया महेन्द्रनगर बजार क्षेत्रमा ल्याइएका छन् । नाम नखुलाउने शर्तमा एक महिलाले भनिन्, ‘मेयर–उपमेयरले नौटंकी गरिरहेका छन् तर समस्या हामीलाई भएको छ । गहुँ हरियो हुने बेलामा छाडा चौपायाले खेतीपाती सखाप पारेको छ, मेयर–उपमेयरले व्यवस्थापन गर्छु मात्रै भन्छन्, काम गर्दैनन् ।’

    मंगलबार महिलाहरूले छाडा पशुचौपायालाई नगरपालिका कार्यालयभित्र हुल्न खोजे पनि नगरपालिकाले रोकेको छ । वसन्तपुरबाट ल्याइएका अन्दाजी ३०० भन्दा बढी पशुचौपाया यतिबेला नगरपालिका अगाडिको सडक र खाली ठाउँमा छन् । ती महिलाले भनिन्, ‘यी मेयर–उपमेयरलाई भोट दिएर यहीँ दिन देख्नुपर्‍यो ।’

    पशुचौपाया व्यवस्थापनबारे उपमेयर लेखकले ठाउँ नपाउँदा ढिलाइ भएको प्रतिक्रिया दिइन् । ‘प्रोसेस चलिरहेको छ, प्रयास गरिरहेका छौं, जमिन नपाएर गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘यो जनताको आक्रोश स्वाभाविक हो । आरक्षको जमिनले रोकिदियो, हामी लागिरहेका छौं । हुन्छ । अलि ढिलो हुन्छ ।’

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट