काठमाडौं:
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
पद्मोदय स्कुलको पालोदेखि सिंहदरबार पश्चिम गेटसम्म, सर्वोच्च अदालतदेखि माइतीघर मण्डलासम्म, माइतीघर मण्डलादेखि बबरमहलसम्म र बिजुलीबजारदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
कार्यालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यही मङ्सिर १गतेदेखि निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, धर्ना, घेराउ, बैठक, प्रदर्शनजस्ता विरोध प्रदर्शन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ ।
उक्त आदेश लागू भएको ३० दिनका लागि लागू हुने जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एकै मिति, एकै समयमा र स्थानमा एक वा एकभन्दा बढी समूहबाट भीडभाड हुने, विरोधका कार्यक्रम गर्नेजस्ता कार्यले विवाद, झगडा, मुठभेड र शान्ति सुव्यवस्थामा खलल पु¥याउन सक्ने भएकाले सुरक्षालाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
निषेधित क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायकलाई सहज रुपमा सञ्चालन गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण र सुरक्षा गर्न तथा ती क्षेत्रका एम्बुलेन्स, दमकल र सार्वजनिक यातायात प्रणालीमा नकारात्मक प्रभाव पर्न नदिन जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस