महेन्द्रनगर:
पढाउनु प्रक्रिया मात्र होइन, कला पनि हो । ज्ञान हुनु वा विषयमा पोख्त हुनु मात्र शिक्षणका निम्ति आवश्यक पर्ने गुण होइन । शिक्षकमा पढाउने कला पनि हुन जरुरी छ । ज्ञान अनि कला दुवै हुनु उत्कृष्ट शिक्षकको परिचय हो । अहिले २१औँ शताब्दीका विद्यार्थी शिक्षकभन्दा पहुँचका हिसाबले धेरै शक्तिशाली छन् । अहिलेका शिक्षकको चुनौती, आफू त्यो संसारमा फिट हुनु हो । त्यसका निम्ति, शिक्षक र विद्यार्थीको संवाद अनि सम्बन्धको भूमिका महत्वपूर्ण छ । शिक्षकमा विषयलाई प्रस्तुत गर्ने राम्रो कला हुनु महत्वपूर्ण छ ।
विषय शिक्षकलाई नै आफैँले पढाएको विषयमा परीक्षा लिने हो अनि अर्कैले कापी जाँच्ने हो भने सबैको उत्तर आउँदैन भने विद्यार्थीलाई सबै कुरा कसरी आउँछ ? यो कुरा शिक्षकले बुझ्न जरुरी छ । तसर्थ, विद्यार्थीसँग रिसाउने, इष्र्या गर्ने, बदला लिनेजस्ता क्रियाकलाप शिक्षकले आफ्नो शब्दकोशबाटै हटाइदिनुपर्छ ।
सबै शिक्षक जन्मिँदै राम्रो शिक्षकमा हुनुपर्ने गुण लिएर आएका हुनुपर्छ भन्ने छैन । यी गुण सिक्दै, बुझ्दै, सुधार गर्दै शिक्षकले हासिल गर्न सक्छन् । तर, यसका लागि एउटै सर्त छ, शिक्षकले आफ्नो विषय अनि आफ्ना विद्यार्थीलाई माया गर्न सक्नुपर्छ । सिकाइलाई जति भोगाइसँग जोड्न सक्यो त्यति प्रभावकारी हुन्छ । शिक्षकले विद्यार्थीमा उत्सुकता जगाउन सक्नुपर्छ । विद्यार्थीलाई सिक्न प्रेरित गर्न सक्नुपर्छ । साथै, पढेका कुरालाई अभ्यासमा उतार्न सके मात्र सिकाइले सार्थकता पाउनेछ ।
विद्यार्थी उत्कृष्ट शिक्षक खोज्दैनन्, उनीहरू केवल आफूलाई सिक्न सक्ने वातावरण बनाइदिने शिक्षक खोज्छन् । तसर्थ, शिक्षक निकै विज्ञ हुनुपर्छ भन्ने छैन । उसले विद्यार्थीलाई बुझ्न सक्ने वातावरण बनाउन सके पुग्छ ।
आफ्नो कक्षाको प्रस्तुति, सोधेको प्रश्न, विद्यार्थीलाई दिएको उत्तर आदिको विश्लेषण गर्न सक्छन् । दोस्रो, शिक्षकले विद्यार्थीसँग उनीहरूको परिचय नखुल्ने गरी खुला प्रतिक्रिया लिन सक्छन् । विद्यार्थीको प्रतिक्रियाबाट शिक्षकले निकै सुधार गर्न सक्छन् । तर, अक्सर हामी शिक्षक प्रतिक्रिया लिन चाहँदैनौ ।
शिक्षाको मूल उद्देश्य आफूलाई अभिव्यक्त गर्नु हो । यदि विद्यार्थीले बिपी कोइराला वा मदन भण्डारी वा भीमसेन थापाको बारेमा निबन्ध लेख्न रुचाउँदैन भने उनीहरूको बेस्टफ्रेन्ड वा प्रेमी÷प्रेमिकाको बारेमा निबन्ध लेख्न लगाएर लेखनमा रुचि जगाउन प्रयास किन नगर्ने ? गाह्रो प्रश्नको उत्तर दिन सक्दैन भने उसलाई आउने सजिलो प्रश्नबाट सुरु गरेर उसको मनोबल किन नबढाउने ? शिक्षाको उद्देश्य कमजोरी मात्र पत्ता लगाउनु होइन, विद्यार्थीको सबल पक्षलाई उजागर गर्नु पनि हो । हामीले सिकाइलाई परिणाम बनाएर हेर्यौँ ।
एउटा विद्यार्थीले २० प्रश्नमा १८ वटा बिगार्यो भने, १८ वटा बिगार्यो भन्नुको सट्टा दुईटा मिलायो भन्ने मानेर उसलाई दुईबाट २० पुर्याउने जिम्मा किन नलिने ? हामी रातो कलम बोकेर विद्यार्थीको कमजोरी केलाउन तम्सिन्छौँ, तर हामी त्यही उत्तरपुस्तिकामा रहेको उसको सबल पक्षमा ध्यान दिँदैनौँ । अब विद्यार्थीको कमजोरी देखाउने रातो मसीसँगै विद्यार्थीको सक्षमता देखाउने हरियो मसीको प्रयोग हुन जरुरी छ ।
धेरै शिक्षकलाई हुने अर्को भ्रम भनेको शिक्षकलाई सबै आउँछ, विद्यार्थीलाई केही आउँदैन भन्ने हो । त्यस्ता शिक्षक कक्षामा गएर एकोहोरो पढाउन सुरु गर्छन्, दोहोरो संवाद गर्दैनन् । तर, समाधान संवाद अनि प्रश्नमै हुन्छ । यदि अर्जुनले कृष्णलाई प्रश्न सोध्दैनथे भने गीता लेखिँदैनथ्यो । प्रश्न सोध्नु, छलफल गर्नु नै सिकाइ हो । प्रश्न समाधान हो । तर, धेरै शिक्षकले यो बुझ्न सकेका छैनन् ।
मैले त्यस्तो शिक्षकसँग पढेको छु, जसले प्रश्न सोधेकै भरमा मलाई पिटेका छन्, कक्षाबाट निकालेका छन् । ‘मलाई प्रश्न सोध्ने ?’ भन्ने घमण्ड पालेका धेरै शिक्षक हामीले भोगेका छौँ । स्कुल पढ्दा साथीलाई अंग्रेजी नबुझेकै भरमा ट्वाइलेटमा थुन्ने अनि ‘पाइन्ट खोलिदिन्छु’ भन्दै रुवाएर सजाय दिने शिक्षक छन् भनेर विद्यार्थीले गुनासो पोख्नु न परोस्। हामी जस्तो मान्छे पनि शिक्षक बन्न सक्छ भन्ने मानसिकताको सिकार भएका छौँ । शिक्षण त्यति सजिलो विधा होइन, हुनुहुँदैन । हाम्रोमा जीवनमा केही गर्न नसके पढाएर पनि खान्छु भन्ने मानसिकता हाबी हुँदै गएको पाइएको छ । शिक्षणलाई जागिरका रूपमा मात्र हेरिनुहुँदैन ।
शिक्षक को हुन् ? व्यवस्थापक, सहजकर्ता, स्रोतकर्ता, साथी, अभिभावक, समीक्षक, आदर्श व्यक्ति, अनुसन्धानकर्ता ? शिक्षक आवश्यकता अनुरूप सबै हुन सक्नुपर्छ । तपाईं कक्षामा होलसेलमा सम्झौता गर्न सक्नुहुन्न । तपाईंले प्रत्येक विद्यार्थीलाई फरक–फरक दृष्टिकोणबाट हेर्नैपर्छ । त्यसैले त एउटा कक्षामा १६ विद्यार्थीबराबर एक शिक्षक हुनुपर्छ भनिन्छ । तर, हाम्रोमा त्यो अनुपात धेरैजसो ५० विद्यार्थीबराबर १ शिक्षक रहेको छ । त्यसैले पनि शिक्षणलाई गाह्रो बनाइदिएको छ ।
सफल शिक्षकमा चार महत्वपूर्ण गुण हुन जरुरी छ । पहिलो, शिक्षकको व्यक्तित्व । विद्यार्थीले शिक्षकले के गर्छन् हेरिरहेका हुन्छन् । अधिकांश विद्यार्थीको पहिलो रोलमोडेल शिक्षक नै हुन्छन् । शिक्षकले के बोल्छन्, कसरी बोल्छन्, के गर्छन् सबै क्रियाकलाप महत्वपूर्ण हुन्छन् । विद्यार्थी शिक्षकजस्तो बन्न चाहन्छन् । म मेरो जीवनको उत्कृष्ट शिक्षक सम्झँदा त्यस्तो शिक्षक सम्झन्छु, जसले मलाई मनोबल दिए, मेरो हेरचाह गरे, आफ्नैबारेमा जोक बनाएर हाँसे, पढाउन छाडेर खेलको कुरा गरे ।
पानी पर्दा, कक्षा रोकेर हामीसँग अन्ताक्षरी खेले । यस्ता शिक्षकले मेरो जीवनमा ठूलो प्रभाव पारेका छन् । सायद त्यही प्रभावकै कारण, ती शिक्षकले पढाउने विषय अनि पाठप्रति मेरो रुचि बढी थियो । कोही शिक्षक विद्यार्थीभन्दा पनि पाठ्यक्रमलाई माया गर्छन् वा आफ्नो पढाउने कर्तव्य निर्वाह मात्र गर्छन् । त्यस्ता शिक्षकले हाम्रो जीवनमा खासै प्रभाव पार्दैनन् । अझ केही त्यस्ता शिक्षक पनि हुन्छन्, जो विद्यार्थी नै मन पराउँदैनन् । कुनै योजनाविनै पढाउँछन् । विद्यार्थीसँग चिढिन्छन् । यस्ता मानिस यो पेसामा किन छन् भनेर म वेलावेलामा छक्क पर्छु । उनीहरू आफ्नै जीवनबाट के अपेक्षा गर्दै छन् ? जागिर खान मात्र शिक्षणमा आएर सन्तुष्टि र परिणाम यो क्षेत्रले दिन सक्दैन ।
शिक्षा क्षेत्रमा सुधार गर्ने हो भने हामी शिक्षकले सर्वप्रथम आफूले आफ्नो सिकाउने तरिका र विद्यार्थी प्रतीको व्यवहार सुधार्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस