दोधारा:
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले कार्बन उत्सर्जन कम गरि स्वच्छ वातावरण निर्माण लगाएत बहु–प्रयोजनका लागि साईकल वितरण गरेको छ् । एनएनएसडब्ल्यूए र डीसीए नेपालको साँझेदारीमा सञ्चालित सुदृढ परियोजनाले ‘गिफ्ट प्रोजेक्ट–२०२४’ अन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा २५ थान र भीमदत्त नगरपालिकामा २५ थान गरि ५० थान साईकल वितरण गरेको हो । एनएनएसडब्ल्यूएद्वारा सञ्चालित सुदृढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले परियोजनाले काम गरिरहेको पालिकामा रहेका विपद् व्यवस्थापन समिति, कृषक समूहहरु, सहकारी सदस्यहरु र युवाहरुलाई साईकल वितरण गरिएको बताउनुभयो । उहाँले तरकारी खेतीमा आवद्ध कृषकहरुले टोकरीमा तरकारी बेच्न जानु पर्ने बाध्यताको अन्त्य गर्न, कार्बन उत्सर्जन गर्ने मोटरसाईकलको प्रयोग कम गर्न, खर्च न्यूनिकरण गर्न, कार्यबोझ कम गर्न, समयको बचत गर्न र स्थानियपालिका तथा वडा कार्यालहरुमा पहुँच वृद्धि गर्ने उद्देश्यका साथ साईकल वितरण गरिएको बताउनुभयो । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले संस्थाले वायु प्रदुषणलाई रोक्ने उद्देश्यका साथ कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । सोही उद्देश्य अन्तर्गत आज साईकल वितरण गरिएको उहाँले बताउनुभयो । यसले एकातिर विपद् व्यवस्थापन समिति, कृषक समूहहरु, सहकारी सदस्यहरु र युवाहरुलाई आर्थिक तथा समयको बचत गर्न टेवा पुर्याउने छ भने, अर्को तिर वातावरण अनुकूलनमा पनि हदै सम्म मद्दत गर्ने उहाँको भनाई छ् । साईकल प्राप्त गरेपछि कृषकहरुले आफुले उत्पादन गरेका तरकारीहरुको बजारिकरणमा सहजता हुने बताएका छन् । उनिहरुले कृषक समूह तथा सहकारीको बैठकमा जान समेत समयको बचत हुने साथै यसबाट वातावरण पनि स्वच्छता हुने उनिहरुको भनाई रहेको छ् । सुदृढ परियोजनाले कार्बन उत्सर्जन कम गर्दै जलवायु अनुकुलनका क्रियाकलापहरु गर्दै आएको छ् । परियोजनाले प्रत्येक वर्ष गिफ्ट प्रोजेक्ट अन्तर्गत साइकल वितरण, माछाका भुरा वितरण साथै वृक्षारोपण जस्ता क्रियाकलापहरु गर्दै आएको छ् । साथै परशुराम नगरपालिकामा ५ जनालाई साईकल वितरण गर्ने तयारी गरिएको संस्थाले जनाएको छ् ।
प्रतिक्रिया दिनुहोस