२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

भीमदत्तको आगामी बजेट एक अर्ब ९५ करोड




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ १२, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • महेन्द्रनगर:

    भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सोमबार भीमदत्त नगरपालिकाकाको १५ औं नगर सभामा १ अर्ब ९५ करोड ६९ लाखको बजेट सहित नीति र कार्यक्रम पेश गरिएको छ ।

    भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको दावी गरेका छन् ।

    भीमदत्तले ‘नगर समृद्धमा हाम्रो हात, विकासका लागि हिडौँ साथ साथ’ भन्ने नाराका आधारमा नीति तथा कार्यक्रम बनाएको छ । भीमदत्तका कार्य वाहक मेयर उप मेर निलम लेखक जोशीले नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।

    भीमदत्तले आन्तरिक आम्दानी ३० करोड हुने अनुमान गरेको छ । संघ सरकारको वित्तिय समानीकरण अनुदान २४ करोड ४१ लाख, वित्तिय समानीकरण अनुदान प्रदेश सरकार २ करोड ४० लाख ४३ हजार, संघीय सरकार सशर्त अनुदान ५८ करोड १३ लाख ५० हजार, संघीय सरकार राजश्व बाडफाँड १८ करोड ७ लाख र प्रदेश सरकारबाट राजश्व बाडफाँड ८४ लाख अनुमान गरिएको छ ।

    भीमदत्तले संघ सरकारको समपुरक अनुदान ७५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड ४६ लाख २५ हजार, विशेष अनुदान संघिय सरकारबाट १ करोड, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट १ करोड, सामाजिक सुरक्षा तर्फ ५२ करोड ५० लाख, क्षेत्रिय शहरी विकाश आयोजना २४ लाख बजेट अनुमान गरेको छ ।

    नीति तथा कार्यक्रममा निःशुल्क शव वाहन, बुक फ्रि फ्राईडे, मेयर अन द स्पट, सार्वजनिक जग्गाको पहिचान, संरक्षण र लगत तयार गरी अतिक्रमित जग्गा क्रमशः खाली गराई संरक्षण गर्ने, नगरपालिकाकालाई विषादीमुक्त बनाउने, प्राङ्गारिक एवम् जैविक मल उत्पादन गर्ने किसानलाई प्रोत्साहान गर्ने, युवाका लागि सूचना प्रविधिमा आधारित रोजगारीलाई प्राथमिकता नीति लिइएको नगर प्रवक्ता अवस्थीले बताए ।

    भीमदत्तले यस वर्ष विद्यार्थीसँग मेयर कार्यक्रम, जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ । संस्थागत विद्यालयको गरीब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्तिमा कडाई गर्ने नीति लिइएको छ ।

    ७५ वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिकहरुलाई आधारभूत स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने, स्वास्थ्य सेवामा सबैको पहुँचको अवधारणालाई साकार पार्न स्वास्थ्य सेवा प्रणालीको बिस्तार र सुदृढीकरण गर्दै समतामूलक स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गर्न समुदाय स्तरमा शिविर र विशेषज्ञ सेवाका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    नगर सभामा पेश गरिएका नीति तथा कार्यक्रम र बजेट छलफल गरी पारित गरिनेछ । भीमदत्तका मेयर पदम बोगटी काठमाडौंबाट फर्केपछि पारित गरिने जानकारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट