२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बेलौरी नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ का लागि ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ ९, शनिबार मा प्रकाशित ५ महिना अघि
  • कञ्चनपुर:

    कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित गरेको छ । नगर प्रमुख पोतिलाल चौधरीको सभाध्यक्षतामा सञ्चालन गरिएको बेलौरी नगरपालिकाको तेह्रौँ नगर सभामा नगर प्रमुख चौधरीले नीति तथा कार्यक्रम र नगर उपप्रमुख जोगराम चौधरीले बजेट प्रस्तुत गर्नु भएको थियोे । आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको छ । स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले १० वटा वडा मध्ये न्यूनतम १२ लाख १५ हजारदेखि अधिकतम २४ लाख ७६ हजारसम्मको बजेट वडाका लागि विनियोजन गरिएको छ ।

    नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०८१।०८२ भित्र बेलौरी बाहिरी चक्रपथ निर्माणलाई बेलौरी नगर गौरवको आयोजनाको रूपमा विस्तार गरिने, बेलौरी भित्री चक्रपथ निर्माणलाई निरन्तरता दिइने, सबै वडाका मुख्य सडकहरूलाई कालोपत्रे गर्ने, नगर प्रमुख सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिइने, बेलौरी छोटी भन्सारको स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग पहल गरिने, विद्यार्थीहरूको कक्षागत तथा विषयगत नतिजा सुधारका लागि विद्यालयको संस्थागत क्षमता विकासका कार्यक्रमलाई प्राथमिकता दिइएको नगर प्रमुख चौधरीले बताउनुभयो नगर सभामा बजेट विवरण प्रस्तुत गर्दै बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले आगामी आर्थिक वर्षमा रिङ रोडको निर्माण कार्य गरिने, वडा कार्यालयको निर्माण, अक्सिजन प्लान्ट निर्माण गरिने, १५ शय्याको अस्पताल निर्माण, बेलौरी नगरपालिका लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकाको सहकार्यमा दमकल खरिदका लागि आवश्यक पहल गर्ने, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको सहकार्यमा फोहोरमैला व्यवस्थापन लगायतका विषय बजेटमा प्राथमिकता दिइएको बताउनुभयो । बेलौरी नगरपालिकाको तेह्रौँ नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम तथा बजेट पारित समेत गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले बताउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट