२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

खानेपानीको सोलार पाता उडायो, गणेशपुर गाउँमा खानेपानीको समस्या




  • त्रिनेत्र पोष्ट
  • २०८१ जेष्ठ २०, आईतबार मा प्रकाशित ५ महिना अघि
  • बैतडी:

    बैतडीमा हावाहुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं १ स्थित गणेशपुर टोलमा खानेपानीको समस्या भएको हो ।

    शनिबार दिउँसो साढेचार बजेतिर आएको हावाहुरीले पाटन लिफ्ट खानेपानी योजनाको सोलारपाता उडाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले बताए । हावाहुरीले पाटन नगरपालिका १ गेरुवापानीस्थित मूहानमा राखिएका सोलार पाता हावाहुरीले उडाएको हो ।

    हावाहुरीले खानेपानीका सोलार पाता उडाएसंगै गणेशपुर गाउँमा जाने खानेपानी अवरुद्ध भएको छ । यस्तै ३ ओटा विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरमा समेत खानेपानीको आपूर्ती बन्द भएको खानेपानीका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिए ।

    हावाहुरीले खानेपानी तान्नका लागि राखिएका ७५ ओटा सोलार पातामध्ये ३० ओटा उडाएर काम नलाग्ने बनाएको भट्टराईले बताए । हावाहुरीले सोलारका पाता उडाएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

    पाटन लिफ्ट खानेपानी योजनामार्फत १ सय १९ घरधुरीमा खानेपानी आपूर्ती हुँदै आएको छ । खानेपानी बन्द भएसंगै स्थानीयहरुलाई खानेपानीको जोहो गर्न सकस भएको पाटन नगरपालिका वडा नं १ का सचिव डम्मरदत्त पाण्डेयले बताए ।

    खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत गत असारमामात्रै सम्पन्न भएको योजनामा क्षति पुगेपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट