२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सोनापुरका सुकुम्बासीलाई ‘भगवान’ ले बनाउँदै पक्की घर




  • त्रिनेत्र पोष्ट
  • २०८१ बैशाख २९, शनिबार मा प्रकाशित ६ महिना अघि
  • महेन्द्रनगर:

    भीमदत्त नगरपालिका १३ सोनापुर टोलका बिरेन्द्र दमाई(४०) लाई पक्की घर बनाउने सोच कहिले आएन । खरले छाएको छाप्रोमा दमाईले आधा जीवन बिताई सकेका छन् । त्यही छाप्रो दमाई परिवारका सात सदस्यका लागि आश्रय हो । उनका पाँच सन्तान छन् । दुई छोरीको विवाह गरि सकेका उनका छोरुा मजदुरी गर्न कालापहाड(भारत) गएका छन् । उनी आफैं पनि मजदुरी गर्छन् ।

    आमा बुवाबाट अलग भएपछि उनी अलग छाप्रो बनाएका बसेका हुन् । बाजुरा पुख्र्याैलीका उनका हजुरबाको पाला तराई झरेको दमाई परिवार विभिन्न स्थानमा बस्दै महाकाली नदी किनारको सोनापुर टोलमा पुगेको हो ।

    ‘पहिलादेखि हामी हाम्रा बाजेदेखि नै सुकुम्बासी हौ, जसले घटियो (बस ) भन्यो त्यहीं बसेर, दिन काटेर बस्दै आयौ’ उनले सुनाए,‘अहिले यहाँ आएर ध्यारी मजुरी गरी पेट पाल्छौ,जहाँ काम पायौ, त्यही गर्छौ ।’

    अढाई दशकदेखि छाप्रोमा बस्दै आएका उनले पक्की घर बनाउने र अरु कसैले बनाई दिने सोच कहिल्यै मनमा नआएको बताए ।

    ‘अहिलेसम्म त कसैले गरेन, भोट दियौ, हात जोड्यौ, हाम्रो अवस्था त्यस्तै छ’ शुक्रबार साँझ घर इन्टरलक कारखनामा भेटिएका उनले भने,‘मलाई ४० साल भयो, पक्की घर बनाउने सोच कहिलने आएन, सक्ने भए पो दुई कामराका घर बनाउने सोच आउँथ्यो, जे पायो त्यही खाएर पेट पालि रहेका छौ, यो कुरा त मेरा सपनामा पनि आएन ।’

    दमाईले सपनामा नदेखेको पक्की घर उनी विपनामा पाउन लागेका छन् । कच्ची घरको पछाडि पक्की घर निर्माण थालिएको हो । दुई कोठा र भान्सा सहितको घर निर्माणका लागि जग निर्माण गरिएको छ ।

    ‘हे भगवान हामी पक्की घरमा बस्न पाउने भयौ, हामी त यस्तो सोचेका पनि थिएनौ’ उनले भने,‘बर्खा, हावाहुरी आउँदा समस्या हुन्थ्यो, अब पक्की घर भए त केही नहोला ।’

    दमाई पत्नि सीताले आफूहरुले कच्ची घरमा आधा जीवन बिताएकाले पक्की घरमा छोरा छोरीले बस्न पाउँदा खुसी लागेको बताइन् । ‘कठै हजुर, कसरी पक्की घर बनाउँथ्यौ, हामीलाई नभए पनि छोरा छोरीलाई त बस्थे होलान भनेर सोच्थ्यौ ।’

    दमाई जस्तै सोनापुर टोलका अर्का परु दमाई भगवानको कृपाले आफूहरुले पक्की घर पाउन लागेको खुसी व्यक्त गरे । ‘धेरै ठाउँ घुमेर बस्दै, घुम्दै, फिर्दै यहाँ आयौ,’ ६२ वर्षिय दमाईले भने,‘भगवानको कृपाले हामीलाई दया गरेको छ, जहाँ छौ, भगवानले दयाले छौ ।’

    मजदुरी र महाकाली नदीमा गिट्टी छानेर बस्तीका सबै परिवारले जीविका चलाउने गरेको दमाईले बताए ।

    सोनापुर टोलका जमुना दमाई(७७) ले टोलमा आउन अघि मझगाउँका बिक्रम विष्टको जग्गा अधिँया बनाएर बसेको बताइन् । जग्गा किन्न पैसा नभएपछि आफूहरु मझगाउँबाट महाकाली किनार आएर बसेको उनको भनाई छ ।

    सुदूरपश्चिमको बाजुरा र बझाङ्ग पुख्र्यौली अधिकाँश वासिन्दा वस्तीमा छन् । अधिकाँश दलित समुदायका उनीहरु सबै सुकुम्बासी छन् । उनीहरुसित दुई कट्टासम्म ऐलानी जमिन छ ।

    भीमदत्त नगरपालिका १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकासले सुकुम्बासी सोनापुर टोललाई नमना बस्ती बनाउने अभियान सुरु गरेका छन् । दुई वर्ष अघि स्वतन्त्र उम्मेदवार बनेर वडा अध्यक्ष जितेका उनी टोलका सबै छाप्रा विस्थापित गरी पक्की घर बनाउन लागेका हुन् ।

    अध्यक्ष बोहराले चालु आर्थिक वर्षको सुरुदेखि नमूना वस्ती निर्माण अभियान सुरु गरी पक्की घर बनाउन थालेका हुन् । सुकुम्बासी वस्तीका १८ परिवारका लागि वडा अध्यक्ष बोहराले पक्की घर बनाउन लागेका छन् ।

    पाँच वर्षसम्म वडामा विपन्न ३० परिवारका लागि पक्की घर बनाउने अभियान अन्र्तगत सोनापुर टोललाई नमूना बस्ती घोषणा गरी सूरु गरिएको छ । हालसम्म सोनापुर टोलमा चार घर बन्न लागेका छन् । त्यसमध्ये एक घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

    ‘२०७९ मा मैले चुनाव जिते, चुनावमा त मैले वहाँहरुको पक्की घर बनाउने कुरा गरेको थिइन्, चुनाव जितेपछि वडामा हाम्रा गरीब दाजु भाईहरुको पक्की घर बनाउनु पर्छ, गरीब हकहितका लागि केही गरौ भनेर नमूना बस्ती निर्माणको योजना सुरु गरिएको हो’ वडा अध्यक्ष बोहराले भने ।

    नमूना वस्तीको सीमाङ्कन गरी घर निर्माण कार्य थालिएको हो । नमूना वस्तीमा एक परिवार गैर दलित बाहेक सबै दलित समुदायका वासिन्दाका लागि घर बनाउन लागिएको वडा अध्यक्ष बोहराले बताए ।

    नमूना वस्ती निर्माणका लागि आर्थिक सहयोग संकलन अभियानको नेतृत्व महेश भट्टले गरेका छन् । कार्यक्रमको संयोजक युवा नेता महेश भट्टले गरेका छन् । सिद्धनाथ माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्ट समाजसेवी हुन् ।

    वडा अध्यक्ष बोहराले नमूना वस्तीका लागि स्थानीय सरकार र गैर सरकारी संस्थाबाट सहयोग पाएका छन् । चालु आर्थिक वर्षमा भीमदत्त नगरपालिका ५ लाख, वडा कार्यालय डेढ लाख, गैर सरकारी संंस्था र स्थानीयले एक÷एक लाख रुपैँया वस्ती निर्माणका लागि सहयोग गरेका छन् ।

    बस्तीमा गैर सरकारी संस्थाको सहयोगमा चार शौचालय बनेका छन् । यस अघि वासिन्दाका लागि महाकाली नदी किनार खुला शौचालय थियो ।

    नमूना वस्ती निर्माण भएपछि स्थानीयले मजदुरीका लागि बाहिर जान छाडेका छन् । वस्तीमा इन्टरलक ब्लक कारखना सुरु भएको छ । कारखनामा वस्तीका वासिन्दा मजदुरी गर्छन् ।

    वडा अध्यक्ष बोहराले वासिन्दाको आय स्रोत वृद्धि गर्नका लागि वस्तीमा कारखना सञ्चालन गरिएको बताउँछन् ।

    दशैंसम्म चार घर बनाएर सम्बन्धित परिवारलाई बस्न दिइने वडा अध्यक्ष बोहराले बताए । उनले वस्तीका बालबालिकाका लागि बाल विकास केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्ने योजना बनाएका छन् ।

    वस्तीका बालबालिका महाकाली बाल विद्यालयमा पढ्दछन् । वस्तीको शिक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने वडा अध्यक्ष बोहराको योजना छ ।

    सोनापुर टोलका चार सय घर परिवार सदस्य छन् । उनीहरुमध्ये महाकाली नदी किनारको सुकुम्बासी वस्तीका परिवार आर्थिक, राजनीतिक, सामाजिक, शैक्षिक सबै हिसाबले पछाडि भएको वडा अध्यक्ष बोहराले बताए ।

    वडा अध्यक्ष बोहराका अनुसार वस्तीका वासिन्दा शिक्षामा धेरै पछाडि छन् । वस्तीबाट हालसम्म कसैले पनि कक्षा १० उत्तीर्ण गरेका छैनन् । वडा अध्यक्ष बोहराका अनुसार गरीबीका कारण वासिन्दाहरु बालबालिकालाई शिक्षा आर्जन गराउन नसक्ने अवस्थामा छन् ।

    २०५६ मा बसेको वस्तीका वासिन्दाले पहिलो पटक पक्की घर र शौचालय देख्न पाएका हुन् । महाकाली नदीको बाढी २०७९ मा वस्तीमा पसेको थियो । बाढीले कच्ची घरलाई समेत भत्काई दिएको थियो । उनीहरुले फेरि बेसरमका भित्ता र खरको छानो हालेर घर बनाएका हुन् ।

    पाँच वर्षभित्र वडामा निर्माण हुने ३० पक्की घरमध्ये ७५ प्रतिशत दलित समुदायका छन् । वडा अध्यक्ष शुल्क तिरी वस्ती प्रवेश गर्न पाउने गरी नमूना बस्ती बनाउन लागिएको बताउँछन् ।

    ‘यो काममा भीमदत्तका मेयर सापले धेरै सहयोग गर्नु भएको छ, आगामी दिनमा पनि साथ सहयोग पाउने आशा राखेको छु’ वडा अध्यक्ष बोहराले भने ।

    वडा अध्यक्ष बोहरा भगवान रामका भक्त हुन् । वडा कार्यालयमा पदभार गरेपछि उनले कार्यालयको कुर्चीमा पैसा र फूलको मालाले सजावट गरे राखेका हुन् । उनले घरबाट कार्यालयमा कुर्ची लगेर बस्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट