२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

ऐतिहासिक भोपुर दरबार जिर्ण




  • त्रिनेत्र पोष्ट
  • २०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • बझाङ:

    तत्कालिन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभावमा जिर्ण बनेको छ । गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट थप क्षति पुगेपछि सयौं वर्ष पुरानो उक्त दरबार थप संकटमा परेको हो ।

    बझाङको ऐतिहासिक धरोहर एवम् पर्यटकीय स्थलको रुपमा रहेको दरबार बेवारिसेजस्तै बन्नेपछि स्थानीयले यसको संरक्षणप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । तर संरक्षणको पहल भने हुन सकेको छैन् । वि।स। १९९० सालमा बझाङी राजा देबी जंग बहादुर सिंहले भारतको कलकत्ताबाट इन्जिनियर ल्याएर भोपुर दरबार निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ ।

    अहिले जिर्ण अवस्थामा रहेको यस ऐतिहासिक दरबारको तत्काल जिर्णोद्धार नगरिए यसको अस्तित्व नै संकटमा पर्न सक्ने चैनपुका स्थानीय रण बहादुर स्नेहिले बताउनुभयो । वि।सं। २०५८ सालमा सुरक्षाको कारण देखाउँदै सेनाको ब्यारेक हेमन्तवाडा भन्ने ठाउँमा सरेपछि दरबार बेवारिसे बनेको थियो । सशस्त्र द्वन्द्वका बेला वि।सं। २०६० सालमा तत्कालीन विद्रोही माओवादीले दरबारमा आगजनीसमेत गरेका थिए । तर स्थानीयले आगो निभाएका कारण एउटा कोठा बाहेक दरबारमा बढी क्षति भने हुन पाएन । दरबारको संरक्षणमा सरोकारवाला निकायले चासो नदिँदा यसको अस्तित्व दिनप्रतिदिन घट्दै गएको छ भने दरबार जीर्ण बन्दै गएको छ । दरबारका भित्ताहरुमा चिरा परेका छन् भने दरबारभित्र रहेका तलाहरुमा प्वाल परिसकेका छन् । ऐतिहासिक पुरातात्विक वास्तुकलाको प्रयोग गरिएकोे यस दरबारलाई पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ ।

    वि।सं।२०६३ सालमा शान्ति सम्झौता भएपछि नेपाली सेनाको एउटा टुकडी फेरि भोपुरमा बस्न थालेको छ । दरबार जीर्ण भैसकेका कारण त्यहाँ बस्न नमिल्ने भएपछि सेना नयाँ भवनमा बसेका छन् उनिहरुले रेखदेख गर्दै आएका छन् । यसको मर्मत गर्नुपर्ने स्थानीयहरुको माग छ । बाहिरी जिल्लाबाट बझाङ आउनेहरुले समेत दरबारको संरक्षण नभएको प्रति चिन्ता व्यक्त गर्ने गरेका छन् ।

    बेलैमा यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धन हुन नसके पछुताउनुको विकल्प नहुने चितवनबाट दरबार अवलोकनका लागि पुग्नुभएको साहित्यकार एवं कानुनी अधिवत्ता सरीता तिवारीले बताउनुभयो । यसको जिर्णोद्धार हुन सके जिल्लाको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने उनीहरुको भनाइ छ । दरबारको जिर्णोद्धार गरेर बझाङको परम्परागत जीवनशैली र संस्कृतीहरु झल्काउने संग्राहालयको रुपमा विकास गरिनुपर्ने यहाँका बासिन्दाको माग छ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट